मेरो बुबालाई माओवादीले हत्या गरेको ६ वर्षपछि थाहा भयो, लास देख्न पाईएन
२०८१ माघ ३० गते बुधबार
- तिनै माओबादी भित्रबाट यसो नगरौं भन्दाभन्दै उहाँलाई कुटेर हत्या गरियो भन्ने थाहा पायौं। बुबाले मैले सुराकी गरेको होइन, म यो आरोप स्वीकार्न तयार हैन बरु ज्यान दिन तयार छु भन्नु भयो रे । उनीहरुले कुट्दा कुट्दै उहाँ बेहोस हुनुभयो। त्यसपछि गोली ठोकेर मारिदिए, भन्ने कुरा आयो। त्यसरी हत्या गरिसकेपछि बुबाको लास महाभारतको जंगलमा फालिदिए रे।
हाम्रो मध्यम वर्गीय परिवार हो। मेरो बुबा रामेछाप गौरीशंकर उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएको हो। त्यो बिद्यालय त्यस क्षेत्रमा नाम चलेको विद्यालय हो। उहाँ २०३२ सालमा नेपाल विद्यार्थी संघको प्रमुख नेतामध्ये एक हुनुहुन्थ्यो। उहाँमा सानै बेलादेखि प्रजातन्त्र प्रति गहिरो निष्ठा थियो । त्यस समय बुबाले अध्ययन गर्ने विद्यालयको प्रध्यानाध्यापक चाहिं कम्युनिष्ट नेता गोरे बहादुर खपांगी थिए।
हाम्रो बुबालाई त्यतिबेला प्रध्यानाध्यापक गोरेबहादुर खपांगीले एसएलसीको नतिजा आइसकेपछि फेला भएको मार्कसिट थमाएर पठाए । किनकि उनले नेविसंघंका नेता कार्यकर्तालाई देखिसहदैन थिए। पछि गौरीशंकरले आफ्नो स्मारिका प्रकाशित गर्दा उहाँ पास भएको नतिजा आयो। तर त्यो रिजल्ट कहिले थाहा भयो भने २०५८ सालमा। ३२ सालको घटना ५८ सालमा थाहा भयो। यो घटनाले उहाँलाई अत्यन्त विक्षिप्त बनायो। उहाँ पढाईमा अब्बल हुनुहुन्थ्यो। क्लासको प्रथम व्यक्ति, जसलाई एसएलसीमा फेल भएको रिजल्ट थमाईदिए। त्यसपछि उहाँले आफ्नो पढाईलाइ त्यहि छोडीदिनु भयो।
त्यतिखेर २०३२ सालमा नेविसंघको अध्यक्ष हुदै गर्दा उहाँहरुले खपाङ्गीको ज्यादतिका विरुद्ध आन्दोलन चाहिं गर्नुभएको रहेछ। त्यसबेला प्रध्यानाध्यापक खपाङ्गीले केहि समय स्कुलबाट 'रेष्टिकेट' पनि गरिएछ, तर दवाबका कारण उनले त्यसलाई फिर्ता लिन बाध्य भए। त्यस पछि खपाङ्गीले बुबालाई अर्को के दु:ख दिउ भन्दा एसएलसीको नतिजामा त्यसरी धाधली गरेछन। सबैको प्रिण्टेट सर्टिफिकेट छ, तर मेरो बुवालाइ चाहिं हातले लेखेको सर्टिफिकेट बनाएर दिए। यसले उहाँमा पढाई प्रति 'फ्रस्टेसन' आयो, र त्यस भन्दा माथि उहाँले पढ्न भढनु भएन। त्यसपछि घर गृहस्ती र व्यवहारले पनि छोप्यो, घरको जेठो छोरा पनि।
२०३२ सालमा बिहे गर्नु भयो। मेरो आमा चाहिं २०४९ सालको जलस्रोत राज्य मन्त्रि लक्ष्मण घिमिरेको बहिनी हुनुहुन्छ, उर्मिला कोइराला।
पञ्चायत कालमा पनि उहाँ भूमिगत भएर प्रजातन्त्रका लागि भूमिका खेल्नु भयो। प्रथम पटक गिरिजा प्रसाद कोइराला सिन्दुली भ्रमणमा जादा जिल्ला कार्य समिति बन्न नसक्दा, पहिलो पटक जिल्ला कार्यसमिति बनाउन आह्वान गर्दा सबैभन्दा पहिले म सदस्य बन्छु भनेर आट गर्ने मेरो बुवा हुनुहुन्थ्यो। उहाँमा उच्च प्रजातान्त्रिक चेत थियो, प्रजातन्त्रका लागि संघर्ष गरेकै व्यक्ति हो। त्यति बेला गिरिजा प्रसाद कोईराला र शुशिल कोइरालाले निक्कै प्रशंसा समेत गर्नुभयो।
२०६० सालको समय देशमा चरम द्वन्दको समय थियो। त्यस समय कांग्रेसका गाउँ स्तरका नेताहरु पनि गाउँमा बस्न डराउथे। त्यसमाथि सिन्धुली जिल्ला अलि आक्रान्त भएको ठाउँ नै हो। साथै प्रशासनको ठाउँभन्दा अलि बाहिर हाम्रो घर भएको कारण त्यस क्षेत्रमा गाउँ स्तरका नेता, कार्यकर्ताहरु पनि बस्न डराउथे। तर मेरो बुबा त्यस समय जिल्ला महासमिती सदस्य हुनुहुन्थ्यो। २०४८ सालको निर्वाचनमा पनि टिकटका लागि प्रवल दावेदार नै हुनुहुन्थ्यो।
त्यसबेला माओबादी कै केहि मान्छेहरु फरक विचार भएपनि केहि सिक्न पाइञ्छ भनेर हाम्रो बुबाकहाँ कुरा गर्न आउथे। एउटा बौद्धिक व्यक्तिका रुपमा उहाँलाई चित्रण गर्थे। त्यसबेला माओबादीको नीति चाहिं कोहि पनि कांग्रेस एमालेका नेताहरु गाउँमा नबसुन भन्ने थियो। त्यसैले उहाँ एक जना व्यक्तिलाई सकाय गर्न पायौ भने एकछत्र राज हुन्छ भन्ने उदेश्य पनि रहेछ।
त्यसबेला एकजना माओबादीलाई सेनाद्वारा गोली हानी हत्या गरिरहेको थियो। जो व्यक्तिलाई प्रहरीले पहिले घरैबाट पक्राउ गरेर ४ महिना हिरासतमा राख्दा मेरै बुबाले आफै जमानी बसेर मुक्त गराउनु भएको थियो। पछि उनी पुन माओवादीमा लागेर भूमिगत भएका रहेछन। दशैंमा घर आएका बेला सेनाले अलि पर रामेछाप तिर लगेर मारेको थियो । माओवादीलाई के निउँ पाउँ भैरहेको थियो, यहि घटनाको सुराकी गरेको आरोप लगाईदिए । जबकि पहिले त्यहि व्यक्तिलाई प्रहरीले पक्राउ गरेर हिरासदमा राख्दा मेरै बुबाले छुटाउनु भएको थियो, त्यो गुण पनि विर्सिए। पारिवारिक रुपले पनि ति मरिएका व्यक्ती हाम्रो परिवारसँग अत्यन्त नजीक थिए। हाम्रो बुबाले सुराकी गर्ने भन्ने छदैं थिएन।

(शहिद: वशिष्ठ कोईराला )
मेरो बुबालाई माओबदिहरुले घरबाट लैजादा ३ जना व्यक्ति आएका थिए। त्यसबेला म पनि घरमै थिए। जसले हाम्रो बुबालाई घरबाट लिएर गएका थिए, उनीहरु हाम्रो घरमा आउनेजाने, खानेबस्ने गर्थे। हाम्रो घरमा चाहे माओबादी आओस चाहे कांग्रेस कसैलाई रोकावट थिएन। हाम्रो घरमा आउ जाउ हुन्थ्यो। ति मध्ये अहिले एकजना गाउँपालिका वडाध्यक्ष भएका छन्। एकजना व्यक्ति एमालेमा प्रवेश गरेका छन। भने अर्को एक जना चाहिं सेनाको कारबाहीमा मारिएका छन्।
दाईसँग केहि गोप्य गफ गर्नु छ भनेर गोठ पछि लिएर गए।पहिले पनि आइरहने केटाहरु के त्यस्तो गोप्य होला र भनेर जानुभयो। ५-१० मिनेटसम्म नआइसकेपछि हामीले शंका गर्यौं, यिनीहरुले कतै लिएर गएकी भनेर हेर्यौं। त्यतिबेला हरेक दिन रेडियोमा समाचारहरु सुन्दा अपहरण गरेको, हत्या गरेको घटनाहरू घटिरहन्थे। वास्तवमा यिनीहरू राजनीतिक प्राणी त थिएनन।
हामी त्यहाँ १०-१२ जना थियौ। म त्यतिबेला १७ बर्सको थिए। बुबाको उमेर ४६ वर्षको थियो। हाम्रो परिवारमा २ दाजुभाई र १ जना दिदि हुनुहुन्छ। जेठो दाजु, दिदि र म। घटना हुदा दाजु ब्याचलर लेवलमा पढनुहुन्थ्यो, म र दिदि इन्टर लेवलमा पढिरहेका थियौ।
उनीहरुले सिधा बाटोबाट नहिडाएर 'कु'बाटो लगेछन, पछि हामीले थाहा पायौं यो कुरा। मान्छे हिडिरहने बाटोबाट लागेको भए हामीले भेट्थ्यौ। सबैले खोजी गरेका थियौं। नभेटेपछि सबै गाउँलेलाई खबर गर्यौं। ५०-६० जना जम्मा भएर खोज्यौ। तर उनीहरुले अन्त्यै टाढा पुर्याइसकेका थिए। उनीहरुले त्यस दिन राति एउटा घरमा लगेर राखेका रहेछन।
उनीहरुले २६ गते हाम्रो घरबाट अपहरण गरी लगेर २७ गते हत्या गरेछन। भोलिपल्ट दिउसोको समयमा निर्घात कुटपिट गरि अन्त्यमा गोलि हानी मारेछन। त्यसपछि लासपनी कता फ्यालिदिए वा गाडीदिए हामीले थाहै पाएनौं, पछि कुशको लास बनाएर पशुपतिमा संस्कार गरियो, त्यो पनि ६ बर्स पछि।
घरबाट अपहरण गरेर लगेपछि हामीलाई गुमराहमै राखे। कहिले कता राखेको छ भन्थे, कहिले कुन श्रमशिविरमा राखेको छ भन्थे, कहिले कता हिडाईराखेको छ भन्थे। यसरी हामीलाई अलमल्याई रहन्थे, तर उनीहरुले लागेकै भोलिपल्ट हत्या गरिसकेका रहेछन। हामीले धेरै खोजी गर्यौं। उनीहरुले घटना घटेको १२-१३ दिन पछि केहि व्यक्तिको हत्या गरेको भने तर फेरी त्यहि माओबादीका कार्यकर्ताहरुले, हत्या गरेको हैन, तपाईहरुलाई आतंकित पार्न मात्र यसो भनेको हो, उहाँलाई हामीले श्रम सिविरमा राखेका छौ भनेर जानकारी दिए। यसले हामीलाई अलमल गरायो।
अन्तराष्ट्रिय रेडक्रस संस्थाले धेरै खोजि गर्यो। इन्सेक, मानब अधिकार संघठन सबैले 'फलो' गर्दा उनीहरुले जवाफ फ़र्काएनन।
माओवादी शान्ति प्रक्रियामा आयो, उनीहरूको पार्टी कार्यालाय बुद्धनगरमा थियो। माओबादीको त्यो कार्यालयमा ४ घण्टा कुरेर हामीले प्रचण्डको स्वकीय सचिवलाई निवेदन दिएका थियौं। त्यस पत्रको बोधार्थ सिपी गजुरेललाई पनि दियौं। २०६४ सालको निर्वाचन भन्दा एक/डेढ महिना अगाडी। त्यसको जवाफ उनीहरुले हामीलाई सिधैं नदिएर २०६५ सालमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई जानकारी गराए। हाम्रा साथीहरुले २६ गते लगेर २७ गते हत्या गरिसकेको रहेछन भनेर यता माओबादी हेड क्वाटरबाट सिन्धुली जिल्ला प्रशान कार्यालयलाई जानकारी गरेछन। जिप्रका सिन्धुली कार्यालयबाट हामीलाई खबर आयो। यसरी आधिकारीक जानकारी पाएपछि हामीले बुबाको काजकिरिया गर्यौ।
तिनै माओबादी भित्रबाट यसो नगरौं भन्दाभन्दै उहाँलाई कुटेर हत्या गरियो भन्ने थाहा पायौं। बुबाले मैले सुराकी गरेको होइन, म यो आरोप स्वीकार्न तयार हैन बरु ज्यान दिन तयार छु भन्नु भयो रे । उनीहरुले कुट्दा कुट्दै उहाँ बेहोस हुनुभयो। त्यसपछि गोली ठोकेर मारिदिए, भन्ने कुरा आयो। त्यसरी हत्या गरिसकेपछि बुबाको लास महाभारतको जंगलमा फालिदिए रे। केहि समय कसैलाई त्यस जंगलमा जान पनि दिईएन, त्यो लास कुहिएर गयो होला।
हामी काजक्रियामा बसिसकेपछि माओबादी भित्रकै मान्छेहरुले बुबालाई अपहरण गरेपछि के कस्ता यातनाहरू दिईयो, कसरी मारियो भन्ने बारेमा बताए। शान्ति प्रक्रियामा आइसकेपछि पनि उहाँको बारेमा जानकारी पाउन नसक्दा उनीहरुले हत्या गरिसकेछन भन्ने शंका त लागिसकेको थियो। तर औपचारिक र आधिकारिक खवर पाएका थिएनौ।
सिपी गजुरेलले हाम्रो ममीलाई पढाएका थिए। सिपी गजुरेल हेडमास्टर हुदा मेरो ममी ९ कक्षामा पढ्नुहुन्थ्यो, सिन्धुलीको कमला हाइस्कुलमा। बिहेभन्दा पहिला सिपी गजुरेलले हाम्रो आमालाई पढाएको हुनाले उनलाई अलि बढी फलो गर्यो। त्यसकारण पनि पछि बाध्य भएर उनले २०६४ को निर्वाचन ताका हाम्रो साथीहरुले केहि गल्ति गरिसकेका छन्, म माफी माग्छु भनेर सार्बजनिक मंचबाट भनेछन्, हाम्रो गाउँभन्दा पल्लो गाउँमा भाषण गर्दा। उनले हत्या भन्ने शब्द प्रयोग नगरी गल्ति भन्ने शब्द प्रयोग गरे। म त्यसमा क्षमाप्राथी छु, यो नहुनु पर्थ्यो भयो भनेर भनेका थिए। उनलाई भोट पनि माग्नु थियो। मान्छेहरु अत्यन्त रुष्ट थिए।
हाम्रो बुबाले कसैलाई बिझाउनु भएको थिएन। सबैले मानसम्मान गरेको व्यक्ति भएकै कारणले पनि त्यहाँका मानिसले अलि बढि माया गर्थे। अर्को कुरा हाम्रो हजुरबुवा ज्योतिष भनेर कहलिनु भएको थियो।
बुवालाई घरबाट लिएर गएपछि हामीले कांग्रेस पार्टीलाई जानकारी चाहिं गरायौं। काग्रेसको सिन्धुली जिल्ला पार्टी कार्यालय र केन्द्रीय पार्टी कार्यालयलाई खबर गर्यौ। केन्द्रिय कार्यालयबाट त्यतिबेला विज्ञप्ति जारी भयो, रेडियो टेलिभिजन सबैतिर समाचार आयो। ५-७ जना कांग्रेसका नेताहरूले हाम्रो साथीलाई माओवादीले अपहरण गरी लग्यो, सकुसल फिर्ता होस् भनेर अनुरोध गरे।
बुवालाई अपहरण भएपछी हामी प्रहरी कार्यालय जान पनि सकेनौ। गाउँबाट बिस्थापित भएर काठमाडौँ आएर बस्न बाध्य भयौ। छरछिमेक र नातागोताले हाम्रो जग्गाजमिनमा जे जस्तो खेति गरेर उब्जनी पठाउथे, त्यो खाएर बस्यौ। ऋण गरेर गुजारा गर्यौ।
पछि माधब नेपालको सरकार गठन भएपछी माओबादीद्वारा हत्या गरिएका केहि व्यक्तिहरुलाई शहिद घोषणा गरियो। हाम्रो बुबाको नाम पनि पर्यो। त्यसपछी शान्ती तथा पुन: निर्माण मन्त्रालयबाट विभिन्न चरण गरेर १० लाख रुपैया राज्यबाट सहयोग भयो।
हामी तिन जना छोरा छोरीलाइ राम्रैसँग पढाउने लक्ष्य बुबाले राख्नुभएको थियो। हामीले पढ्दै पनि गएका थियौ। दाजुले कमर्स पढ्नु भयो, दिदीले आर्ट्स पढ्नु भयो, मैले साइन्स पढे। बुवाको लक्ष्य चाहिं कान्छो छोरालाई इञ्जिनिएर बनाउछु, जेठो बैंकर बन्छ, उसको सुरु देखिकै रहर बैंकमा जाने थियो। छोरीको मास्टर बन्ने रहर छ म बनाउछु भन्ने थियो। तर त्यस घटनाले पढाईमा नराम्रोसँग अबरोध गर्यो। मलाई पढ्न गाह्रो भयो। किनकि हरेक दिन पीडाले भतभत पोलिरहन्थ्यो। हाम्रो घरको मौरीको रानो नै हराएको जस्तो भयो। बुबालाई अपहरण गरेपछि हामी २०६४ सालसम्म घर नै फर्कन सकेनौ। माओवादीका कारण हाम्रो परिवार मात्रै टुटेन सपना पनि टुट्यो।
(माओवादीद्वारा हत्या गरिएका शहिद वशिष्ठ कोइरालाका छोरा अन्जनी कोइरालासँग गरिएको कुराकानीमा आधारित सम्पादित लेख ।)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।